खाँदबारी, २ भदौ । सङ्खुवासभा कारागारभित्र कुटपिटबाट २ कैदीको मृत्यु भएको घटनामा प्रहरीसहित १२ जनामाथि अनुसन्धान भइरहेको छ । कैदी मृत्यु प्रकरणमा प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)सहित एक दर्जनलाई अनुसन्धानको दायरामा तानिएको प्रहरी नायब उपरीक्ष (डिएसपी) वीरेन्द्र गोदारले बताए ।
कागरागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको थियो ।
डिएसपी गोदारका अनुसार घटनामा संलग्न देखिएका प्रहरी र कैदीसहित उनीहरूविरूद्ध ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । अनुसन्धानमा रहेकाहरूको नाम प्रहरीले खुलाएको छैन । कैदी मृत्यु प्रकरणमा प्रत्यक्ष संलग्न देखिएका ५ जना प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको डिएसपी गोदारले बताए ।
प्रहरीले साउन २८ गते आइतबार कारागार सुरक्षा इञ्चार्ज असई लक्ष्मी चौधरीमाथि ५ दिनको म्याद थप गरी अनुसन्धान गरिहेको थियो । असई चौधरीलाई शुक्रबार पुनः ५ दिन म्याद थप गरेको छ भने अन्य ११ जनालाई पहिलो म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
घटनामा संलग्नलाई छानबिन टोलीको प्रतिवेदनको आधारमा थप कारबाही प्रक्रिया अघि बढाइने डिएसपी गोदारले बताए । घटनापछि गृह मन्त्रालयले कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान टोली बनाएको थियो ।
पीडितले दिएको किटानी जाहेरीका आधारमा असई चौधरीसहित कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरेविरूद्ध जिल्ला अदालत सङ्खुवासभाले साउन २८ गते पक्राउका लागि अनुमति दिएको थियो । कारागारका निमित्त प्रमुख घिमिरेलाई भने हालसम्म पक्राउ गरिएको छैन ।
खाँदबारी नगरपालिका–१ मा रहेको कारागार कार्यालय सङ्खुवासभामा रहेका मादी नगरपालिका–५ फेलेदै बस्ने २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–९ का २७ वर्षीय विकास श्रेष्ठ भन्ने आकाश बलामीको साउन २४ गते बुधबार बिहान मृत्यु भएको थियो ।
घटनालगत्तै गृह मन्त्रालयले यही साउन २४ गते छानबिन समिति गठन गरेको थियो । अनुसन्धानपछि केन्द्रीय छानबिन समितिले शुक्रबार कारागार घटनाको प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको छ ।
अहिले सङ्खुवासभा कारागारमा ८ महिलासहित १३६ कैदीबन्दी छन् ।
सम्बन्धित समाचार
- कैदी मृत्यु प्रकरणमा प्रहरी र चौकीदारसहितका कैदीको संलग्नता देखियो : छानबिन समिति
- कैदीबन्दी मृत्यु प्रकरण : कुटपिटपछि कारागारमै मृत्यु भएको मानव अधिकार आयोगको निष्कर्ष
- कैदीबन्दी मृत्यु प्रकरण : कारागारका निमित्त प्रमुख र असईविरूद्ध पक्राउ पुर्जी जारीपछि आफन्तले बुझे शव
- कैदीबन्दी मृत्यु प्रकरण : असई चौधरी पक्राउ, ५ दिन हिरासतमा राख्न अनुमति
- कैदी मृत्यु प्रकरण : कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध किटानी जाहेरी, अझै आफन्तले शव बुझ्न मानेनन्
- ‘कैदी मृत्यु प्रकरणको निष्पक्ष छानबिन हुन्छ’
- कैदी मृत्यु प्रकरण : घटनामा संलग्न १० प्रहरीसहित १५ नियन्त्रणमा
- कैदी मृत्यु प्रकरण : छानबिन गर्न कोशी प्रदेश प्रहरी खाँदबारीमा
- कारागारभित्र कैदी मृत्यु प्रकरण : आफन्तद्वारा निष्पक्ष छानबिनको माग
- कैदी मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेनन्
- सङ्खुवासभा कारागारमा २ जनाको मृत्यु प्रकरण : कुटपिटको आरोपमा ९ जना नियन्त्रणमा