सावित्रा भण्डारीको गोलमा हापोएल रानाना विजयी

57

काठमाडौँ, १ भदौ । नेपाली फरवार्ड साबित्रा भण्डारी ‘साम्बा’ले डेब्यु खेलमै एक गोल र एक असिस्ट गर्दा हापोएल रानानाले विजयी सुरूवात गरेको छ ।

अथेना कप प्रतियोगिताको दोस्रो चरणमा हापोएल रानानाले हादेरालाई २–० ले पराजित गरेको हो । रानानाका लागि आदि गोल्डेन र भण्डारीले १–१ गोल गरे ।

भण्डारीको पासमा गोल्डेनले गोल गर्दै रानानालाई सुरूवाती अग्रता दिलाइन् । त्यसपछि भण्डारी आफैँले गोल गरिन् ।

सावित्राले युरोपेली लिग खेल्ने राष्ट्रको नकटआउट प्रतियोगितामा गोल गर्दै इतिहास रचेकी छन् । क्लबले अब प्रतियोगिताको अर्को चरणमा प्रतिस्पर्धा गर्ने छ । उक्त खेल सोमबार हुने छ ।

रानानाले लिग यात्रा भने अगस्टको अन्तिमदेखि सुरू गर्ने छ । लिगमा ८ टोलीबीच झन्डै ७ महिनासम्म लिग चल्ने छ । रानाना यसै सिजन शीर्ष डिभिजनमा उक्लिएको हो ।

घरेलु लिग तथा राष्ट्रिय टोलीकी सर्वाधिक गोलकर्ता भण्डारी पहिलो पटक युरोपेली क्लबमा अनुबन्ध भएकी हुन् । इजरायल एसियाली मुलुक भए पनि उसले युरोपेली फुटबल महासंघको प्रतिनिधित्व गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...