कैदीबन्दी मृत्यु प्रकरण : कुटपिटपछि कारागारमै मृत्यु भएको मानव अधिकार आयोगको निष्कर्ष

311

विराटनगर, ३२ साउन । सङ्खुवासभा कारागारबाट भाग्ने खोज्ने दुई जना कैदीलाई कारागारभित्रै यातना दिएर हत्या गरेपछि मात्रै बिहान अस्पताल पुर्‍याइएको मानव अधिकारवादी संघ–संस्थाहरूले दाबी गरेका छन् ।

अघिल्लो बुधबार कारागारबाट भाग्न खोजेका दुई जना कैदीको कुटपिटबाट घाइते भएपछि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भनिएको थियो । उक्त घटनाबारे विभिन्न सरकारी टोलीले छानबिन गरिरहेका छन् ।

सङ्खुवासभाकै मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलांगी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी मृत्यु प्रकरणमा कारागार प्रशासन तथा प्रहरीहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

सरकारी पक्षबाट गठित समितिहरूले छानबिन प्रतिवेदन प्रकाशन गर्नु अगावै अधिकारवादी संस्थाहरूले स्थलगत अध्ययनपछि आफ्नो निष्कर्ष सार्वजनिक गरेका हुन् ।

इन्सेक कोशी प्रदेशका संयोजक सोमराज थापाले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनमा दुई कैदीलाई पाशविक रूपमा कुटपिट गरेर हत्या गरेको बताए । थापाका अनुसार भाग्न खोज्ने कैदीहरूलाई पहिले प्रहरीले कुटपिट गरेपछि कारागारभित्र लगिएको र भित्र पनि कैदीहरूले कुटेको देखिन्छ । उनीहरूमाथि रड, लाठी प्रहार भएको अधिकारकर्मीहरूको भनाइ छ ।

राष्ट्रिय मानव अधिकार आयोग विराटनगरका प्रमुख पवनकुमार भट्टले सङ्खुवासभा प्रकरण राज्यका निकायको गम्भीर लापरबाहीको नमुना भएको बताए । “राज्यका निकायहरूमा नागरिकको यो ढंगले ज्यान लिने कुरा ज्यादै गम्भीर छ,” उनले भने, “हामी चाँडै अनुगमन प्रतिवेदन सार्वजनिक गर्ने छौँ ।”

घटनामा संलग्न रहेको भन्दै पीडितका परिवारले किटानी जाहेरी दिएपछि कारागार सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी नियन्त्रणमा छन् । कारागार निमित्त प्रमुख (जेलर) राजेन्द्र घिमिरे फरार छन् ।

उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि मात्रै परिवारले घटनाको ६ दिनपछि शव बुझेका थिए ।

सम्बन्धित समाचार 

Share This:
सम्बन्धित खबर
Loading...