काठमाडौँ, ३० साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अंकले घटेर दुई हजार ४५ दशमलव ४४ अंकमा झरेको छ ।
आज विभिन्न कम्पनीका २७८ कम्पनीको ५६ लाख तीन हजार १७९ कित्ता सेयर ६१ हजार ३४१ पटक खरिदबिक्री हुँदा दुई अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ बराबरको कारोबार भएको छ ।
आजको कारोबारपछि म्युचुअल फन्ड समूहको उपसूचक ४.२८ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह २४२.७० र जीवन बीमा समूह २०४.२८ अंकले घटेको छ ।
बैंकिङ ११.९७, विकास बैंक ७३.१८, वित्त ३९.८४, होटल तथा पर्यटन १२३.६९ र जलविद्युत् ५१ दशमलव ३३ अंकले घटेको छ । लगानी समूह ०.८१, लघुवित्त ४०.१६, निर्जीवन बीमा १८४.२१, व्यापार १४.४१ र अन्य समूहको उपसूचक १३.८९ अंकले घटेको छ ।
आजको कारोबारपछि इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा हिमालयन डिस्टिलरी लिमिटेडको सेयर मूल्य ७.६९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको २० करोड ५५ लाख ९४ हजार ३२ बराबरको सेयर किनबेच भएको छ । किनबेच भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन लाख २५ हजार २३५ कित्ता किनबेच भएको छ ।