उड्नै लागेको विमानमा चरा ठोक्किएपछि…

40

एजेन्सी, २८ साउन । बंगलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न लागेका दुई वटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएका तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् ।

राष्ट्रिय ध्वजावाहक विमान बंगलादेश एयरलाइन्सको बैंकक उड्न लागेको विमानमा चरा ठोक्किएपछि एउटा टायर फुटेर उडान अवरुद्ध भएको उक्त विमानका एक जना वरिष्ठ चालकलाई उद्धृत गर्दै दैनिक समाचारपत्र डेली स्टारले जनाएको छ । यात्रुहरूलाई वैकल्पिक व्यवस्था गरेर बैंकक पठाइएको थियो ।

दोस्रो घटनामा, रिपोर्टअनुसार, त्यसैगरी फ्लाई दुबईको विमान दुबईतर्फ उड्न लागेका बेला विमानको बाँया इन्जिनमा चरा ठोक्किएपछि तीन वटा प्रपेलर ब्लेडमा क्षति भएको थियो । विमान उड्न केही सेकेण्ड बाँकी हुँदा अकस्मात रोक्नुपर्दा दुई वटा पाङ्ग्रा पनि पग्लिएका अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै उक्त अखबारले खबर छापेको छ ।

यसअघि गत डिसेम्बरमा पनि सोही विमानस्थलमा अवतरणका क्रममा विमानको इन्जिनमा चरा ठोक्किएर ड्रिमलाइनर विमानमा क्षति भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...