सुन तस्करी प्रकरण : व्यापारी रोहन अडुकिया पक्राउ

35

काठमाडौँ, २६ साउन । सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी राकेश अडुकियाको छोरा रोहन अडुकिया पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।

भारतबाट इन्डिगो एयरलाइन्सको विमानबाट काठमाडौँ आएका रोहनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरिएको हो ।

हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत् मोटरसाइकलको ब्रेक प्याडभित्र राखेर काठमाडौँ ल्याइएको सुन तस्करी प्रकरणमा राकेश अडुकिया पनि मुछिएका छन् । एक क्विन्टलभन्दा बढी सुन तस्करी प्रकरणमा नाम जोडिएपछि फरार रहेका राकेशलाई प्रहरीले खोजिरहे पनि शुक्रबार उनका छोरा रोहन विमानस्थलबाटै पक्राउ परेका हुन् । यसअघि अडुकियाको घरमा विभागले छापा मारेको थियो ।

क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी अडुकियाले पछिल्ला ९ महिनामा १४ पटक नेपाल–हङकङ ओहोरदोहोर गरेको भेटिएको थियो । सरकारी अभिलेखअनुसार नेपाली नागरिक रहेका उनले भारतीय राहदानीबाट विभिन्न मुलुकको यात्रा गरेका हुन् । उनको यो पटक–पटकको यात्रा सुन तस्करीमै जोडिएको आशंका अनुसन्धानमा संलग्न निकायले गरेका छन् ।

सुन तस्करी प्रकरणमा अहिलेसम्म ५ विदेशीसहित २१ जना पक्राउ परिसकेका छन् । शुक्रबार सुन तस्करी प्रकरणमा संलग्न दुई चिनियाँ नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । हिमालय एयरलाइन्सबाट चीन भाग्न लागेका ली जियाइलियन र लिउ फुयान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार बिहान नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएको थियो ।

साउन ३ गते हङकङबाट ब्रेक सुमा तस्करी भएर आएको करिब एक क्विन्टल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भइसकेपछि राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

ब्रेक सुको तौल १५५ किलो रहेको छ । तर, त्यसमा सुनको मात्रा कति छ हालसम्म जोखिएको छैन । सुन अहिले राष्ट्र बैंकले राखेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...