सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ

88

काठमाडाैँ, २६ साउन । काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही हप्ता पहिले पक्राउ परेको करिब १०० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा आज थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

उक्त प्रकरणमा चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख रामबन्धु सुवेदीले जानकारी दिए । उनका अनुसार चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरा (सिआइबी)को जिल्ला लगाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।

यो प्रकरणमा हालसम्म २० जना पक्राउ परेका छन् । त्यसमध्ये यसअघि नै एकजना हाजिरी जामानीमा छुटेका छन् ।

साउन ३ गते हङकङबाट ब्रेक सुमा तस्करी भएर आएको करिब एक क्विन्टल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भइसकेपछि राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

ब्रेक सुको तौल १५५ किलो रहेको छ । तर, त्यसमा सुनको मात्रा कति छ हालसम्म जोखिएको छैन । सुन अहिले राष्ट्र बैंकले राखेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...