प्राधिकरणले रोक्यो सिम्रिक एयरको सबै उडान

28

काठमाडौँ, २६ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा रोक लगाएको छ । प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख नतिरेकाले शुक्रबारदेखि कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

प्राधिकरणको टोलीले वित्तीय अडिटबाट सिम्रिक एयरको वित्तीय अवस्था पनि कमजोर देखाएकाले सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उडान रोकिएको उनको भनाइ छ ।

“सिम्रिक एयरको वित्तीय अवस्थाका कारण पाइलट तथा कर्मचारीको पारिश्रमिक नै नपाउने अवस्था हुनु उडान सुरक्षाका दृष्टिकोणले गम्भीर मानिन्छ । त्यसैले प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकोप्टरको उडानमा रोक लगाइएको हो,” सूचना अधिकारी भूलले भने ।

नागरिक उड्डयन नियमावली–२०५८ र विमानस्थल सेवा शुल्क नियमावली–२०७८ बमोजिम सिम्रिक एयरको उडानमा रोक लगाइएको हो । भुलका अनुसार बक्यौता नतिरेसम्म उडान रोकिने र बक्यौता रकम आजनै बुझाएको खण्डमा उडान गर्न दिइने छ ।

सिम्रिक एयरसँग रहेका ४ हेलिकोप्टरमध्ये एक बिग्रिएको र बाँकी तीनले उडान भदै आएका थिए । कम्पनीसँग दुई वटा बेल र दुई वटा एएस ३५० हेलिकोप्टर छन् ।

Share This:
सम्बन्धित खबर
Loading...