कारागारभित्र कैदी मृत्यु प्रकरण : आफन्तद्वारा निष्पक्ष छानबिनको माग

233

खाँदबारी, २५ साउन । सङ्खुवासभा जिल्ला कारागारमा दुई कैदीको बुधबार बिहान मृत्यु भएपछि आफन्तले निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।

कारागारभित्र भएको हत्यासम्बन्धी घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाही गर्नुपर्ने जोड दिँदै उनीहरूले उक्त घटना शंकास्पद भएको र प्रहरीको पनि मिलोमतो भएको आशंका गरेका छन् ।

सुरक्षा घेराभित्र रहेको व्यक्तिको कुटपिटबाट हत्या हुँदा प्रहरी प्रशासन मौन बसेको आरोप लगाउँदै मृतककी दिदी भीमा रम्तेलले सत्यतथ्य बाहिर नआउञ्जेल शव नउठाउने बताइन् । प्रहरीले सिसिटिभी क्यामेरा फुटेज अझै बाहिर नल्याएकोमा उनले शंका व्यक्त गरिन् ।

प्रहरीले भने जिल्ला कारागारमा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको बताउँदै आएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले घटनाको सत्यतथ्य छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रहरी र कारागार प्रशासनका कर्मचारी संलग्न रहेछन् भने अनुसन्धान गरेर कारबाही गरिने र छानबिन समितिले पनि १० दिनभित्र यथार्थ बाहिर ल्याइने उनले बताए ।

हत्याको घटनापछि प्रहरीले ९ कैदीबन्दीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । ती कैदीबन्दीको नाम भने सार्वजनिक गरिएको छैन । यो कारागार २५ जना अटाउने क्षमताको भए पनि विभिन्न मुद्दाका १३६ कैदीबन्दी राखिएको छ ।

मृत्यु भएका नुवाकोट ककनी–७ का आकाश बलामी चोरी मुद्दामा सजाय भोगिरहेका थिए । अर्का मृतक जबरजस्ती करणी मुद्दा खेपिरहेका सङ्खुवासभा मादी नगरपालिका–५ का विनोद तोलांगी थिए । कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरूलाई प्रहरी र कारागार प्रशासनले बुधबार बिहान १ बजे नियन्त्रणमा लिइएको र नियन्त्रणलगत्तै भएको कुटपिटपछि ती दुईको मृत्यु भएको प्रहरीको जिकिर छ ।

Share This:
सम्बन्धित खबर
Loading...