काठमाडौँ, २४ साउन । मुलुकभित्रै प्राविधिक व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्डबुद्ध एजुकेसन फाउन्डेसन र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् ।
सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न तथा व्यावसायिक एवम् प्राविधिक शिक्षा उपलब्ध गराउनका लागि फाउन्डेसन र इन्स्योरेन्स कम्पनीबीच सहकार्य गर्ने सहमति भएको हो । सहमति पत्रमा फाउन्डेसनका अध्यक्ष पंकज जलान र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरे ।
फाउन्डेसनमा सूचना, प्रविधि तथा व्यवस्थापने विषयमा स्नातक तह र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा प्रशिक्षार्थीको रूपमा सहभागी हुन पाउने सहमति भएको छ । यसबाट विद्यार्थीहरूले पढाइका साथै रोजगारीको समेत अवसर पाउने फाउन्डेसनका अध्यक्ष जलानले बताए ।
सहमति अनुसार फाउन्डेसनले एमबिए र एमएससी आइटीएम विषयमा इन्स्योरेन्स कम्पनीको सिफारिसमा ६ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क शिक्षा र रोजगारी सिर्जना गर्न लागिएको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कर्णले बताए । उक्त कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने उनको भनाइ छ ।