मछिन्द्र क्लब एएफसी कपको दोस्रो चरणमा प्रवेश

88

काठमाडौँ, २३ साउन । एसियाली फुटबल महासंघ (एएफसी) एएफसी कप फुटबल प्रतियोगितामा नेपालको मछिन्द्र क्लबले भुटानको पारो एफसी क्लबलाई पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा मछिन्द्रले पारो एफसी क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो ।

सहिद स्मारक ए डिभिजन लिगको उपविजेता बनेको मछिन्द्रले एएफसी कप खेल्ने अवसर पाएको हो । लिगमा च्याम्पियन बनेको चर्च ब्वाइज क्लबसँग एएफसी क्लबको लाइसेन्स नहुँदा उपविजेता बनेको मछिन्द्रले मौका पाएको हो ।

खेलमा पहिलो अग्रता भने पारो एफसीले लियो । खेल सुरू भएको ७औँ मिनेटमा काजुओ होम्माले गोल गर्दै सुरूवाती अग्रता दिलाए । पारो एफसीले गोल गरेको ५ मिनेट पनि बित्न नपाउँदै मछिन्द्रले गोल फर्कायो । मछिन्द्रका खेलाडी विमल घर्ती मगरले खेलको १२औँ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । एरिक विष्टको छोटो कर्नर पासमा आयुष घलानको सहयोगमा विमलले हेडरमार्फत् सुन्दर गोल गरे ।

यसैगरी खेलको १५औँ मिनेटमा आयुष घलानले नै गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ३९औँ मिनेटमा विदेशी खेलाडी अफिज ओलावालेले गोल गर्दै मछिन्द्रको अग्रता तेब्बर बनाए । उनले ओमोलाजा करिमको पासमा गोल गरेका हुन् ।

खेलको पहिलो हाफसम्म ३–१ गोलको अग्रता लिएको मछिन्द्रले खेलको दोस्रो हाफमा एक गोल खान पुग्यो । खेलको ७१औँ मिनेटमा पारो एफसीका इभान्स अशान्तेले एक गोल थपे ।

यस जितसँगै अब मछिन्द्रले एएफसी कपको दोस्रो चरणमा भारतको मोहन बगान क्लबसँग खेल्ने छ । उक्त खेल यही साउन ३१ गते हुने छ । यस खेलको विजेताले बंगलादेशको ढाका अबहानी क्लब र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग आगामी भदौ ५ गते खेल्ने छ ।

मछिन्द्रले गत वर्ष पनि एएफसी कपको प्रारम्भिक चरण खेलेको थियो । जसमा मछिन्द्र श्रीलंकन क्लब ब्लु स्टारसँग घरेलु मैदानमै पराजित भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...