ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

55

काठमाडौँ, १९ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लले आज अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । काठमाडौँमा आकस्मिक पत्रकार सम्मेलन गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

उनले सन्यास घोषणा गर्दै आफ्नो परिवार, क्यान, प्रशिक्षण र फ्यानलाई पनि धन्यवाद दिएका छन् । देशको प्रतिनिधित्व गरेकामा गर्व लागेको बताएका मल्लले मान प्रतिष्ठा पाएको खेलबाट बिदा लिन सजिलो नहुने बताए ।

सन् २००६ को एसीसी ट्रफी एलिटमा नामाबियाविरूद्ध डेब्यु गर्दै राष्ट्रिय क्रिकेट टिमको यात्रा सुरू गरेका मल्लले करिब १७ वर्ष नेपाली क्रिकेटमा योगदान दिए । नेपाली क्रिकेट टिमको लामो समय उपकप्तान बनेका मल्ल १०७६ कात्तिक १३ गते कप्तानमा नियुक्त भएका थिए ।

खेलाडीको अनुशासन र क्रिकेट संघसँगको सम्झौता उल्लंघन गरेको भन्दै क्यानले ४ खेलाडीलाई कारबाही गर्दा मल्लको कप्तानीसमेत खोसिएको थियो । दुई वर्ष नेपाली टिमको कप्तानीका जिम्मेवारी वहन गरेका मल्ल २०७८ को मंसिर २९ गते कप्तानबाट पदमुक्त भएका थिए ।

ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय क्रिकेट करियरमा एकमात्र शतक प्रहार गरे । त्यो शतक नेपालमै भएको १३औँ दक्षिण एसियाली खेलकुदमा थियो । तयसबाहेक उनले सन्यास लिनुअघिसम्म ३७ एकदिवसीय खेलमा ८७६ रन बनाएका थिए । उनले एकदिवसीय खेलमा ७ अर्धशतक प्रहार गरेका छन् । त्यसैगरी ४५ अन्तर्राष्ट्रिय टी–२० खेलेका मल्लले ८८३ रन प्रहार गरेका छन् । टी–२० मा उनले एक शतक र दुई अर्धशतक बनाएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...