हेलिकोप्टरमार्फत् सुत्केरी र बच्चाको उद्धार

384

खाँदबारी, १६ साउन । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट सुत्केरी र बच्चाको उद्धार गरिएको छ । पाँचखपन नगरपालिका–७ जलजलाकी २६ वर्षीय सुत्केरी सीता थापा खड्का र बच्चाको नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय सङखुवासभाका सूचना अधिकारी विमल पौडेलले जानकारी दिए ।

सुत्केरी खड्का र बच्चाको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो । सुत्केरी भएको १५ मिनेटपछि बच्चाको फोक्सोमा समस्या देखिएको थियो । बच्चालाई मुटु र फोक्सोमा समस्या भएपछि जिल्ला अस्पतालमै केही बेर आइसियू र तीन घन्टा भेन्टिलेटरमा राखिएको जिल्ला अस्पताल सङ्खुवासभाका मेडिकल अधिकृत प्रदीप सिलवालले जानकारी दिए ।

बच्चाको मुटु र फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ रेफर गरिएको मेडिकल अधिकृत सिलवालले बताए । सुत्केरी खड्काको सोमबार बिहान साढे १० बजे शल्यक्रियामार्फत् बच्चा निकालिएको अस्पतालले जनाएको छ ।

सङ्खुवासभामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हालसम्म एक दर्जनभन्दा बढी सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरिएको छ । सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो व्यथा लागि बच्चा जन्माउन कठिनाइ भएका, गर्भमा नै बच्चाको मुत्यु भएमा र सुत्केरीपश्चात् अत्यधिक रक्तस्राव भएको अवस्थामा निःशुल्क उद्धार गर्दै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...