राँझा, १३ साउन । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट निर्वाचित जनप्रतिनिधिमा शालिनता हुनुपर्ने बताएका छन् ।
एमालेको तर्फबाट लुम्बिनी प्रदेशमा निर्वाचित जनप्रतिनिधिका लागि नेपालगञ्जमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले भने, “नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिमा अहमता र घमण्ड नभइ शालिनता हुनु पर्दछ ।”
अहमता र घमण्डलाई त्यागेर जनप्रतिनिधिले शालिनताका साथ जनताको सेवामा लाग्न आग्रह गर्दै अध्यक्ष ओलीले अबको निर्वाचनमा हरेक तहमा ५१ प्रतिशत जनताको मत हासिल गर्ने गरी एमाले अगाडि बढेको बताए ।
लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि सहभागी प्रशिक्षण कार्यक्रममा उनले जनप्रतिनिधिलाई सार्वजनिक सम्पत्तिको रक्षा गर्दै जनतालाई सरल र सहजरूपमा सेवा प्रवाहको अधिकतम् उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए ।