नेपाल पाकिस्तानसँग पराजित

28

काठमाडौँ, २९ असार । श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानको ए टोलीसँग पराजित भएको छ ।

कोलम्बो क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा नेपाल चार विकेटले पराजित भएको हो । नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तान ए ले ३२ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

पाकिस्तान ‘ए’ का लागि तैयव ताहिरले सर्वाधिक ५१ रनको योगदान दिए । त्यस्तै, वमिर विन युसुफले ३६ रन बनाए भने कमरान गुलामले ३१ रन बनाए ।

बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिए भने पवन सर्राफले २ विकेट झारे । त्यस्तै, कुशल मल्लले १ विकेट झारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाउँदै १७९ रनको योगफल बनायो । नेपालका लागि सोमपाल कामीले १०१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय इनिङ खेले ।

सोमपालले प्रतिश जिसीसँग मिलेर ७० बलमा ५८ रनको साझेदारी गरे । यस साझेदारीले नेपाललाई लज्जास्पद योगफल बन्नबाट जोगायो । प्रतिशले २४ बलमा एक चौका र दुई छक्काको सहयोगमा २६ रन बनाए ।

१५.४ ओभरमा ७२ रनमा ८ विकेट गुमाइसकेको नेपालका लागि सोमपाल र प्रतिशको साझेदारीबाट टोली सम्मानजनक योगफल बनाउन सफल भयो । त्यसैगरी अर्जुन साउद तथा कुशल मल्लले समान १७–१७ रन बनाए । गुलशन झाले १९ बलमा एक चौकाको सहयोगमा १३ रन बनाए भने ओपनर आसिफ शेखले १२ रन जोडे । त्यसबाहेक अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तान ‘ए’ का लागि शाहनवाज दहानी एक्लैले पाँच विकेट लिए भने मोहम्मद वासिम जुनियरले चार विकेट लिए । त्यस्तै, मुबासिर खानले एक विकेट लिए । जितसँगै पाकिस्तान ‘ए’ टोली समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल दोस्रो स्थानमा रहेको छ ।

नेपालले आफ्नो दोस्रो खेलमा आगामी साउन १ गते भारत ‘ए’सँग खेल्नेछ । प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् । टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र ओमान ए छन् भने समूह बी मा नेपाल, भारत, पाकिस्तान र युएईको ए टोली छ ।

Share This:
सम्बन्धित खबर
Loading...