म्यानमार पुर्‍याइ बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ

29

काठमाडौँ, २९ असार । थाइल्यान्ड लैजाने भनी झुक्याइ जबरजस्ती म्यानमार पुर्‍याइ बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको अभियोगमा चिनियाँ नागरिक ४२ वर्षीय जोहन्सन नाम बताउने लियाङ जुलाई प्रहरीले पक्राउ गरेको छ ।

चीनको ज्ञानसु प्रान्त घर भइ काठमाडौँ महानगरपालिका–१५ बिजेश्वरीमा अस्थायीरूपमा बस्ने उनलाई दक्षिण पूर्वी एसियाका लाओस, थाइल्यान्ड, म्यानमारलगायतका देशमा रोजगारीको प्रलोभन देखाइ अवैध अनलाइन स्क्यामिङमा लगाइ शोषण गर्ने गरेको भन्ने उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गरेको हो ।

लियाङले पीडितलाई थाइल्यान्डमा कम्पुटर टाइपिङको काममा लाने भन्दै २०७९ साउन ९ गते म्यानमार पुर्‍याइ बन्धक बनाइ अवैध अनलाइन स्क्यामिङमा काम गर्न बाध्य बनाइ श्रम शोषण गरी शारीरिक तथा मानसिक यातना दिएको अवस्थामा पीडित नेपाल फिर्ता हुन खोज्दा उनले फिरौती रकम माग गरेकामा उक्त रकम बुझाएपछि नेपाल फिर्ता भएको खुल्न आएको छ ।

लियाङ सन् २०१८ देखि नेपाल आउने जाने गर्दै भिजिट, स्टुडेन्ट र बिजनेस भिसामा नेपालमा बसोबास गरी विभिन्न व्यवसायमा लगानी गरेको, उनीलगायत गिरोहले नेपालबाट रोजगारीमा थाइल्यान्ड लैजाने भनी नेपाली नागरिकलाई म्यानमार पठाउने गरेको, म्यानमार पुगेपछि राहदानी र मोबाइल जफत गर्ने, बन्धक बनाउने र सामाजिक सञ्जालमार्फत् दिनको १८ देखि २० घन्टासम्म अनलाइनको काममा लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

त्यस्तै, अनलाइन स्क्यामिङमार्फत् विशेषगरी अमेरिकी नागरिकलाई ‘फेक आइडी’ मार्फत् कुराकानी गरी क्रिप्टोकरेन्सी, बिटक्वाइनलगायतमा लगानी गर्न लगाइ ठगी गर्ने गरेको, काम गर्न नसकी फिर्ता हुन्छु भन्नेलाई रकम माग गर्ने गरेको, गिरोहकै मिलोमतोमा थाइल्यान्ड भनी म्यानमार पठाइएको १० जनालाई जबरजस्ती अनलाइन स्क्यामिङको काममा लगाउँदै आइरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्नुका साथै पक्राउ परेका उनीउपर जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...