मौलापुरमा आमाछोरी मृत फेला, श्रीमान् ससुरा फरार

32

रौतहट, १६ असार । रौतहटको मौलापुरमा गत शुक्रबार आमा छोरीको रहस्यमय मृत्युका सम्बन्धमा रौतहट प्रहरीले अनुसन्धान गरिरहेको छ । मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरी आरूही शुक्रबार राति घरमै मृतावस्थामा शव फेला परेका थिए ।

आरूहीको शव पङ्खामा झुन्डिएको तथा कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवले बताए । उनका अनुसार मृतक कविताका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह घटनापछि फरार छन् । कविताकी सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।

कविताको माइती पक्षले दाइजोको निहुँमा उनको हत्या गरिएको आरोप लगाएको छ । उनको माइतीघर माधवनारायण नगरपालिका–५ मिठुअवा गाउँ हो । कविताका बुबा विजयशंकर साहले घटना थाहा पाउनसाथ आफू छोरीको घर गएको तर आफूले छोरी र नातिनीको शव हेर्नसमेत धेरै बेरपछि पाएको बताए । उनका अनुसार छोरी जुवाइँबीच पटक–पटक विवाद हुने गरेको थियो ।

“बेलाबेलामा कविताले जुवाइँ धिरेन्द्र साहले नगद, पलङ, सुनको औँठी र सिक्री माग्ने गरेको बताएकी थिइन् । दाइजो नल्याएका कारण छोरी र नातिनीको हत्या गरिएको हो,” साहको आरोप छ ।

हालसम्म घटनाको मुचुल्का तयार गर्ने काम भइरहेको र माइती पक्षले कुनै जाहेरी नदिएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढाले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...