सङ्खुवासभा बाढीपहिरो : बेपत्ताको खोजी जारी

105

खाँदबारी, ६ असार । सङ्खुवासभामा बाढी पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ । गत शनिबार राति अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण २० जना बेपत्ता भएका थिए । बाढी पहिरोबाट बेपत्ता भएकाहरूको खोजी आज पनि जारी छ ।

बाढी पहिरोमा परेर बेपत्ता भएकाहरूको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र गोदारले जानकारी दिए । बेपत्ताको चौथो दिन पनि बिहानदेखि खोजी जारी रहेको उनले बताए । बेपत्ताको खोजीका लागि हेँवा खोला र सभाखोलाको बगरमा सुरक्षाकर्मी परिचालित छन् । वर्षाका कारण खोजीमा समस्या भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित खोजीमा सक्रिय रहेका छन् । बाढी पहिरोमा परी बेपत्ता भएका सङ्खुवासभाका विभिन्न स्थानका २० जनाको अवस्था अझै अज्ञात छ । बेपत्ता २१ जनाको पहिचान खुलेको भए पनि सोमबार एक जनाको शव फेला परेको छ । उनको पहिचान खुलेको छैन भने शरीरको आधा भाग पनि फेला नपरेको प्रहरीले जनाएको छ । बेपत्तामध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हँेवा हाइड्रोपावरका मात्रै १७ जना मजदुर छन् ।

बाढीले सभापोखरीमा २, चैनपुरको नुनढाकीमा एक र अप्पर हेँवाखोला हाइड्रोपावरका एकजना मजदुर पनि अझै बेपत्ता छन् । बाढीले बगाउँदा सुपर हेँवाखोला हाइड्रोपावरमा कार्यरत दुई जना मजदुर घाइते भएका छन् । गम्भीर घाइते दुवैको उपचार भइरहेको छ । चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको छ ।

बेपत्ता हुनेहरूमा सुपर हेँवा हाइड्रोपावरका सुपरभाइजर सुनसरी इटहरीका सन्तोष ढकाल, चैनपुर नगरपालिका–४ का भुवनसिंह तामाङ, चैनपुरका सुवास राई, सुपरभाइजर झापा गौराहदहका फैजबहादुर कार्की, धनकुटा पाख्रीबासका गणेश गिरी, इलामका राजकुमार मगर, झापाकी मीना श्रेष्ठ (भान्से), कैलालीका रामजतन थारू, सुगत थारू, अमर थारू , सीता थारू, बर्दियाका राहुल थारू, रोहित थारू, पुलसन थारू, कालीराम थारू, राजराम थारू र सङ्खुवासभा पाँचखपनका दीपक मगर रहेका छन् ।

यस्तै, सभापोखरी–३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई बेपत्ता भएका छन् । चैनपुर–१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अपर हेँवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नगरपालिका–४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

हेवा खोला बाढीपहिरो : बेपत्ताको पहिचान खुल्यो [सूचीसहित]

हेवाखोलाको बाढीले ७ घर बगायो, १७ मजदुर सम्पर्कविहीन

हेवाखोला बाढीपहिरो : दुई जनाको उद्धार, १५ अझै बेपत्ता [अपडेट]

Share This:
सम्बन्धित खबर
Loading...