काठमाडौँ, ३ असार । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । मुटुमा पुनः समस्या देखिएपछि राष्ट्रपति पौडेललाई शुक्रबार राति २ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले पौडेलको मुटुको चालको निगरानी भइरहेको बताए । अस्पतालले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चालको निगरानी भइरहेको छ । राष्ट्रपतिको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी गराइन्छ ।”
यसअघि मुटुमा समस्या देखिएर मंगलबार बिहान राष्ट्रपतिलाई बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा लगिएको थियो । स्वास्थ्य परीक्षण सकिएपछि मंगलबार भर्ना भएका पौडेललाई बुधबार बिहान डिस्चार्ज गरिएको थियो ।