‘वानएक्स बेटिङ’ प्रचारको आरोपमा राजु मास्टर र बल्छी ध्रुबेसहित ८ जना पक्राउ

103

काठमाडौँ, ३२ जेठ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन बेटिङ प्लेटफर्ममार्फत् सट्टेबाजीको कारोबारको प्रचार गरेको आरोपमा बल्छी ध्रुवे नामले परिचित कलाकार मरिचमान श्रेष्ठसहित आज आठ जनालाई पक्राउ गरेको छ ।

प्रतिबन्धित विभिन्न अनलाइन बेटिङ प्लेटफर्ममार्फत् सट्टेबाजी गर्नका लागि विज्ञापन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा.मनोजकुमार केसीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ, राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली छन् ।

पक्राउ परेका कलाकारहरुले युट्युबमार्फत् अनलाइन वेटिङको विज्ञापन गरेको प्रहरीको आरोप छ । उनीहरुले युट्युबमार्फत् प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेका थिए । कलाकार एवं युट्युबरले विज्ञापन गरी सट्टेबाजीमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै प्रहरीले अप्रेसन चलाएको थियो ।

अनलाइन बेटिङमार्फत् सट्टेबाजीको कारोबार गरेको आरोपमा बुधबारमात्रै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

उक्त कारोबारमा गरेको आरोपमा पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौँको मैजुबहाल बस्ने २९ वर्षीय दिनेश खड्का, २८ वर्षीया अनिता धिताल, भक्तपुरको मध्यपुर ठिमी–४ बस्ने २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनपुर घर भई काठमाडौँ बुद्धनगर बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई नागर्जुन बिसी क्याप स्किल बस्ने २४ वर्षीय आशीष लामिछाने रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा.केसी बताए ।

बाह्र जनाको नामबाट ६३ वटा खाता खोलेर अवैध कारोबार, ५ जना पक्राउ

पक्राउ परेकाहरुको खातामा करोडौँ रकमको कारोबार भएको देखिएको थियो । साथै दिनेश खड्का एक्लैको खाताबाट ६४ करोड ७७ लाख ८८ हजार ७७१ बराबरको कारोबार भएको देखिएको छ । यसैगरी श्रेष्ठको खातामा पाँच करोड ५४ लाख ६६ हजार, चन्दको ४५ लाख र लामिछानेको दुई करोड ९८ लाख ९६ हजारको कारोबार भएको खातामा देखिएको छ ।

आशिष लामिछानेले ३७ लाख बराबरको नगद कारोबारसमेत गरेको प्रहरीले जनाएको छ । उक्त रकम प्रहरीले बरामद गरी बुधबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको थियो । पक्राउ परेकाबाट ७४ करोड १३ लाख ५० हजार सात सय ७१ बराबरको कारोबार भएको भेटिएको थियो । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान अघि बढाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने व्यवस्था छ । धारा १२५ को (२) को उपदफा (१) को (क) मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार सम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार सम्म जरिबाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजारसम्म जरिबाना हुने व्यवस्था रहेको छ । रासस

Share This:
सम्बन्धित खबर
Loading...