बोराभित्र महिलाको शव, हत्यामा संलग्न श्रीमान् पक्राउ

73

दमौली, ३२ जेठ । तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले निज महिलाका श्रीमान्‌लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई व्यास–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट रहेका छन् । प्रहरीले विष्टलाई मंगलबार राति व्यास–३ स्थित तरकारी लाइनबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले बुधबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ ।

मृतक व्यास–१२ लामीडाँडा माइती भएकी निजकै श्रीमती रंगिला भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) अवदेश विष्ट क्षेत्रले जानकारी दिए । पक्राउ परेका विष्टमाथि जिल्ला अदालत तनहुँबाट बुधबार पाँच दिनको म्याद थप गरिएको छ ।

विष्टले श्रीमतीलाई डेरामै हत्या गरेर बोरामा बोकेर चिहानडाँडा नजिकको नालाको कल्भर्टमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक रंगिलाले दुई वटा सिम प्रयोग गर्ने गरेको र सोही कारण श्रीमान्‌श्रीमतीबीच मनमुटाव हुने गरेको अनुसन्धानबाट खुलेको एसपी विष्टले बताए ।

उनले भने, “जेठ २६ गते दिउँसो श्रीमान्‌ श्रीमतीबीच झगडा भएको र निज मनोजले श्रीमतीको हत्या गरी बोरामा शव हालेर आफैँले बोकेर चिहानडाँडा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी शवलाई कल्भर्टमा हालेर डेरा फर्किएका थिए ।”

उनीहरूबीच सामाजिक सञ्जालमार्फत् गत वैशाख १ गते प्रेम विवाह भएको थियो । पक्राउ परेका विष्ट दमौलीमा मार्केटिङ व्यवसायमा आबद्ध रहेको प्रहरीले जनाएको छ । एसपी विष्टले भने, “शव परीक्षणको रिपोर्ट आएपछि थप केही खुल्ने छ ।”

मृतकका बुबा मनबहादुर भुजेलले जेठ ३० गते बिहान छोरी हराएको भनेर कार्यालयमा फोटोसहितको हुलिया निवेदन दिएका थिए । उक्त निवेदनमा भुटेलले छोरी गत जेठ २४ गतेदेखि सम्पर्कविहीन भएको उल्लेख गरेका थिए ।

मनबहादुर भुजलले पेस गरेको हुलिया मृतकको शवसँग मिल्दोजुल्दो देखिएकाले उनलाई बोलाएर मृतकको सनाखत गरिएको प्रहरी उपरीक्षक विष्टले बताए । हातमा लगाएको चुरा, कानमा लगाएको रिङ र हातखुट्टाका आधारमा मृतकका बुबाले सनाखत गरेको एसपी विष्टको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...