बाह्र जनाको नामबाट ६३ वटा खाता खोलेर अवैध कारोबार, ५ जना पक्राउ

55

काठमाडौँ, ३१ जेठ । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत् एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको फेला परेको छ ।

काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका अनुसार कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारू, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धिताललगायतको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टका रूपमा सक्रिय भएको पाइएको हो ।

सट्टेबाजको रकम प्रयोग गर्न दिनेशले ६३ वटा खाता खोलेको भेटिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा.मनोज केसीले जानकारी दिए । उनका अनुसार उनीसहित सट्टेबाजीको एजेन्टका रूपमा सक्रिय रहेका अन्य ४ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । पक्राउ पर्नेमा निरज खड्का, अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने छन् ।

उनीहरूले सट्टेबाजमा ७४ करोड १३ लाख कारोबार गरेको पाइएको छ । आशिषले ३ करोड कारोबार गरेको फेला परेको छ भने दिपेशले ५ करोड ५४ लाख कारोबार गरेको फेला परेको एसएसपी डा.केसीले बताए । उनका अनुसार आशिषको साथबाट प्रहरीले ३७ लाख बरामद गरेको छ । उनीहरूको साथबाट ल्यापटप, मोबाइल, सिमलगायत विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

कार्यालयले बरामद सामग्रीसहित उनीहरूलाई आज सार्वजनिक गरेको हो । उनीहरूले क्रिप्टो करेन्सीको कारोबार गरेको प्रमाणसमेत फेला परेकाले राष्ट्र बैंक ऐन र जुवा ऐनबमोजिम मुद्दा अघि बढाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...