आज यी ४ प्रदेशमा वर्षको सम्भावना

39

काठमाडौँ, ३० जेठ । कोशी र बागमती प्रदेशको केही स्थान साथै मधेस र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो र राति आंशिकदेखि सामान्य बदली भई कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाले कोशी, मधेस, बागमती प्रदेशको तराईका भू–भागमा वर्षासँगै थोरै तापक्रम घटेपनि गर्मीको सम्भावना यथावत रहने देखिएको जनाएको छ । कोशी प्रदेशमा बदली र वर्षाको सम्भावना रहेकाले तापक्रम घट्दै जाने र अत्याधिक गर्मी नहुने जनाएको छ । तर, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भू–भागमा अत्याधिक गर्मीको सम्भावना अझै रहने महाशाखाको विश्लेषण छ ।

यसवर्ष मनसुनी वर्षाको आगमन पनि औसत मिति (१३ जुन)भन्दा एक–दुई दिन ढिला हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । जसका कारण नेपालको पश्चिमी भू–भागमा तत्काल पानी पर्ने सम्भावना न्यून छ । वर्षा नहुँदा पश्चिम नेपालको तराई क्षेत्रमा अत्याधिक गर्मी अझै कायम रहने भएको हो । महाशाखाले अत्याधिक गर्मी बढेसँगै तातो हावा तथा लुबाट बच्न आग्रह पनि गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...