प्युठान, २९ जेठ । प्युठानको भिङ्ग्रीमा भएको जिप दुर्घटनामा परेका ८ जनाकै ज्यान गएको छ । स्वर्गद्वरी दर्शन गरेर दाङको लमही फर्किँदै गरेका तीर्थयात्री चढेको लु१च ६३४५ नम्बरको जिप भिङ्ग्रीको भ्यागुतेमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काका अनुसार तुलसीपुर उपमहानगरपालिका–१५ कोठेरीकी ३४ वर्षीया सरिता शर्मा, उनका १४ वर्षीय छोरा विशाल र ९ वर्षीय विकास छन् । सरिता आफ्ना आफ्ना छोराहरूसँग नारायणपुर बजारमा कोठा भाडा लिएर बस्दै आएकी थिइन् । उनका श्रीमान् विदेशमा छन् ।
दुर्घटनामा परी गढावा गाउँपालिका–७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३० वर्षीया श्रीमती राधा नेपाली र छोरा ९ वर्षीय आदित्य शाह रहेको डिएसपी खड्काले बताए ।
कार चालक लमही नगरपालिका–५ का ४९ वर्षीय तारा कुमाल रहेका छन् भने अर्का एक जना मृतक बालकको पहिचान खुल्न बाँकी छ ।
मृतक सबैको शव जिल्ला अस्पताल प्युठानमा राखिएको छ । डिएसपी खड्काका अनुसार कार माथिल्लो सडकबाट खसेर तल्लो कालोपत्र भइरहेको सडकमा बजारिँदा मानवीय क्षति भएको हो ।