काठमाडौँ, २७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका नदीनालाहरू भारतलाई सुम्पेको आरोप लगाएका छन् । उनले भारत भ्रमणका दौरान प्रधानमन्त्री प्रचण्डले भारतको नयाँ संसद्को नक्सामा नेपालको भूमि सामेल गरिएकोप्रति आपत्ति नजनाएको भन्दै असन्तुष्टि पोखे ।
पार्टी निकट राष्ट्रिय भूतपूर्व सैनिक संगठनले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष लिङ्देनले भने, “आज हेर्नुहोस् त, देशको जिम्मा लिएको राजनीतिक दलहरू र व्यक्तिहरूका क्रियाकलाप कस्तो प्रकारका छन् ? देशका नदीनालाहरू विदेशीलाई जिम्मा लगाउन पाउँदाखेरि उपलब्धि ठान्न थालेका छन् । आफ्नो भ्रमणको मुखैमा, आफ्नो देशको भू–भागसमेत अंकित गरेर छिमेकीले आफ्नो नक्सा प्रकाशित गर्दाखेरि यो किन भयो भनेर प्रश्न गर्न नसक्नेहरूको हातमा आज देशको नेतृत्व छ ।”
राप्रपा अध्यक्ष लिङ्देनले देश संकटमा परेको जिकिर गर्दै त्यसको सुरक्षाका लागि आन्दोलनमा आउन भूपूसैनिकहरूलाई आह्वान गरे । तपाईंहरूले बन्दुक बोकेर सुरक्षा गरेको देश संकटमा परेकाले जोगाउनका लागि साथ चाहिएको अध्यक्ष लिङ्देनको भनाइ थियो ।
“यो लडाइ देश जोगाउने लडाइ, धर्म जोगाउने लडाइ, यो लडाइमा उभिनुपर्ने भयो । यसमा एकचोटी तपाईंहरूको साथ चाहियो । सहयोग चाहियो भनेर म अपिल गर्न चाहन्छु,” उनले भने, “तपाईंहरूले हिजो बन्दुक बोकेर सुरक्षा गरेको देश, धर्म संकटमा गयो । आज हेर्नुस् त, देशको जिम्मा लिएका राजनीतिक दलहरू र व्यक्तिहरूका क्रियाकलाप कस्तो प्रकारका छन् ? देशका नदीनालाहरू विदेशीलाई जिम्मा लगाउन पाउँदाखेरि उपलब्धि ठान्न थालेका छन् ।”
लिङ्देनले भूपूसैनिकहरूका लागि राप्रपाको विकल्प नभएको दाबी गर्दै देश र हिन्दु धर्म संकटमा पर्दा भूपूसैनिकहरूले चुप लागेर बस्न नमिल्ने उद्घोष गरे ।