काठमाडौँ, २७ जेठ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम सफा छ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
आज दिउँसो देशका थोरै स्थानमा वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आंशिकदेखि सामान्य बदली भई कोशी र कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति कोशी प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।
महाशाखाले आगामी २४ घन्टाका लागि चेतावनी जारी गर्दै देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिएको र त्यसबाट ती भू–भागमा तातो हावा ‘लु’ चल्ने जनाएको छ । अत्याधिक गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानको तापक्रम वृद्धि भइरहेको छ । वर्षाको सम्भावना कम हुँदा तराईमा अत्याधिक गर्मी बढ्दा जनजीवन प्रभावित भइरहेको छ । महाशाखाका अनुसार शुक्रबार भैरहवा र जनकपुरमा सबैभन्दा धेरै तापक्रम मापन भएको छ । दुवै स्थानको अधिकतम तापक्रम ४२.५ डिग्री सेल्सियस पुगेको थियो ।