‘अखण्ड भारत’को नक्सा नहटेसम्म हामी पनि टिष्टा काँगडा समेटिएको नक्सा संसद्‌मा टाँसौँ : रघुजी पन्त

61

काठमाडौँ, २६ जेठ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले नेपालले पनि आफ्नो संसद् भवनमा टिस्टा र काँगडा समेटिएको नेपालको नक्सा टाँस्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पन्तले भारतले सांस्कृतिक र ऐतिहासिक नक्सा भनेर नेपालको भू–भाग समेटिएको नक्सा संसद् भवनमा टाँसोको विरोधमा नेपालले पनि टिस्टा र काँगडासम्मको नक्सा संसद् भवनमा टाँस्नुपर्ने बताएका हुन् ।

“यदि भारतले सांस्कृतिक र ऐतिहासिक नक्सा भनेर आफ्नो संसद्मा राखिराख्न पाउँछ भने हामीले सतलज र राबी नदीसम्म पुगेको सिमाना, टिस्टा र काँगडा सामेल गरेको नक्सा हामीले पनि आफ्नो संसद् भवनमा टाङ्दा के हुन्छ ?” उनले भने ।

बिहीबार भारतीय विदेशमन्त्री यश जयशंकरले संसद्‌मा टाँसेको ‘अखण्ड भारत’को नक्साबारे छिमेकी मुलुकहरूले बुझेको र यसलाई राजनीतिक रूपमा लिन नहुने बताए थिए ।

पन्तले जयशंकरको उक्त अभिव्यक्तिबारे सरकारको धारणा के हो भनेर प्रश्नसमेत गरेका छन् ।

“हामी नेपालीको चित्त बहुत छिटो बुझ्छ । हाम्रो प्रधानमन्त्रीले यहाँ आएर भन्नुभयो, मैले उठाएँ नक्साको कुरो त्यहाँको संसद्‌मा राखेको । तर, हिजो भारतीय विदेशमन्त्री र भारतीय विदेश मन्त्रालयका प्रवक्ताले पनि पत्रकार सम्मेलन गर्दै प्रष्ट के भन्नुभएको छ भन्दाखेरी त्यहाँको विदेशमन्त्रीले यो बंगलादेशले पनि उठायो, पाकिस्तानले पनि उठायो । नेपालले पनि उठायो । तर, हाम्रो मित्र देश नेपालले चित्त बुझाइसक्यो । के नेपालले चित्त बुझाएको हो ?,” उनको प्रश्न छ ।

Share This:
सम्बन्धित खबर
Loading...