नागरिकता विधेयकमा नभइ वैवाहिक अंगिकृतका बारेमा हाम्रो आपत्ति हो : रवि लामिछाने

36

काठमाडौँ, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् सांसद रवि लामिछानेले नागरिकता विधेयकमा जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल आमाका सन्तानले नागरिकता पाउने प्रक्रियामा विभेद गरिएको बताएका छन् ।

बिहीबार संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा भाग लिँदै रास्वपा सांसद लामिछानेले एकल महिलाका सन्तानले नागरिकता पाउने प्रक्रिया गलत भएको बताए ।

उनले नागरिकता विधेयकका बारेमा नभइ वैवाहिक अंगिकृतका बारेमा मात्रै पार्टीले छलफल गर्न खोजेको बताए । एकल आमाहरूका सन्तानले नागरिकता लिँदा आमाले बाबुको पहिचान नै नखुलेको स्वघोषणा गर्नुपर्ने प्रावधान गलत भएको उनको भनाइ छ ।

“जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल महिलाका सन्तानको नागरिकताको अधिकार समान हुनुपर्छ । मात्र वैवाहिक अंगिकृतका बारेमा मौन रहेकाले यसबारे छलफल गर्न खोजिएको हो । एकल आमाका सन्तानले नागरिकता लिँदा आमाले बाबुको पहिचान नै नखुलेको स्वघोषणा गर्नुपर्ने प्रावधान हाम्रा आमा दिदीबहिनीको आत्मसम्मान विपरीत छैन यो ?,” उनले भने ।

उनले नागरिकता नपाउनुको वास्तविक पीडा आफूले भोगेको बताए । उनले नागरिक विधेयक गलत बाटोबाट प्रमाणीकरण भएकोमा आपत्ति जनाए । रास्वपा सभापति लामिछानेले नागरिकता विधेयकका सम्बन्धमा आफ्नो पार्टी कुनै समुदायको विरूद्धमा नलागेको स्पष्ट पारे ।

Share This:
सम्बन्धित खबर
Loading...