काठमाडौँ, २४ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दुई देशबीच उपलब्धिजनक सम्झौता नहुने बुझेरै भारत भ्रमणमा नगएको बताएका छन् ।
काठमाडौँमा खिजिदेम्बा हुँदै नयाँ पर्यटन पथमार्ग शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बनाएका हुन् । उनले आफूले हेलिकोप्टर पनि नचढ्ने र दुई देशबीचको सम्झौता उपलब्धिमूलक नहुने भए विदेश भ्रमण नजाने प्रण गरेको बताए ।
उनले ओखलढुंगाको खिजिदेम्बामा गल्फले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको बताए ।
“हेलिकोप्टर चढिएन ? भयो के ? यतिसम्म यो कि ठुला व्यापारी धनाढ्य घरानाले त उडाउने नै भए । कति हो कति हुँदो रहेछ, पर्यटन मन्त्रालय उड्नुपर्ने,” उनले भने, “७० वटा जति देशबाट त निमन्त्रणा आयो । भ्रमण पनि जान्न भन्दिएँ ।”
उनले उपलब्धिमूलक नहुने भएपछि आफू भारत भ्रमण पनि नगएको जानकारी दिएका छन् ।
“दुई देशबीच गतिलो सम्झौता हुँदैन भने विदेश पनि नजाने । त्यसैले यसपालि इन्डिया पनि नगएको,” उनले भने, “खासमा पर्यटनमन्त्री त सवारीमन्त्री हो नि, जानुपर्थ्यो, तर गएर केही हुँदैन, आफ्नै भूमिका केही हुँदैन भने किन जाने ? ठुलो मान्छे भयो नभन्नुहोला, त्यहाँका मानिसले ।”
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही जेठ १७ देखि २१ सम्म भारत भ्रमणमा जाँदा मन्त्री किरातीमातहतका कुनै सम्झौता हुन सकेनन् ।
भारतले नयाँ हवाई रूट दिन अस्वीकार गर्यो । अर्कातिर भैरहवा विमानस्थलमा उपकरण राख्ने कुरामा पनि भारतले सहमति दिन मानेन ।