पाल्पा जिप दुर्घटना : मृतक चार जनाको पहिचान खुल्यो [अपडेट]

100

पाल्पा, २२ जेठ । पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यावतीस्थित किउरछेडाँमा भएको जिप दुर्घटनामा मृतकको संख्या ४ पुगेको छ । अहिले मृतक सबैको पहिचान खुलेको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जिप आइतबार साँझ सो स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र थापाले जानकारी दिए ।

मृत्यु हुनेमा अर्घाखाँची पाणिनी गाउँपालिका–१ पडेना बस्ने जिप चालक २६ वर्षीय रमेश विक, पाणिनी–१ का ३३ वर्षीया श्यामकला परियार, पाणिनी–२ पोखराथोककी २५ वर्षीया सीता गौतम र सोही स्थानका दुई वर्षीय बालक संयोग गौतम रहेका छन् । संयोगको उपचारको क्रममा र अन्यको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । घाइते ५ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, २ जनाको चौराहा अस्पताल बुटवल र ४ जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिप सडकदेखि करिब ७९ मिटर तल खसेको छ । दुर्घटनासम्बन्धी अहिले अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...