काठमाडौँ, १२ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजिएको टिप्पणी गरेका छन् ।
एमाले पार्टी मुख्यालयमा आजदेखि सुरू भएको स्थानीय तहका जनप्रतिनिधिलाई दुई दिने अनुशिक्षण कार्यक्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई दोष देखाउन खोजेको भन्दै यसमा एमालेको संलग्नता नरहेको बताए ।
“एमाले यस्ता कुरामा संलग्न छैन । एमाले सधैँ भ्रष्टाचारको विरोध गर्छ,” उनले भने, “एमाले स्वाच्छता, पारदर्शी र सुशासनको पक्षमा रहेको छ । तर, एमालेलाई बदनाम गर्न खोजियो ।” उनले एमालेविरूद्ध संसद्मा आधारहीन, असत्य र जनतालाई भ्रम पार्ने खालका कुरा सत्ता पक्षका सांसदले बोलेकाले संसद् अबरूद्ध गरिएको बताए । “संसद्मा बोलेका कुराको पुष्टि हुनुपर्यो । पुुष्टि हुने सम्भावना छैन,” उनले भने ।
अध्यक्ष ओलीले पार्टी अहिले चौतर्फी घेराबन्दीमा परेको बताए । “नेपालीलाई भुटानी बनाएर विदेश पठाउने धन्दामा केही व्यक्ति सामेल भएका छन् । अहिले यसमा को संलग्न छ ? अदालतमा मुद्दा परेको छ म भन्न चाहन्नँ,” उनले भने, “तर, भुटानी शरणार्थी प्रकरणको सबै दोष एमालेतर्फ खन्याउन खोजियो ।”
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूसँग नजिकका व्यक्तिलाई बयानमा नाम भन्न लगाएको आरोप लगाए । “मेरा नजिकका मानिसलाई कसरी पोल्न, लेख्न र मुछ्न लगाउने काम भइरहेको छ,” उनले भने, “एमालेका विरूद्ध अनेक प्रकारका हिलो छ्याप्ने, आरोपित गर्ने प्रयास भइरहेका छन् ।”