काठमाडौँ, १२ जेठ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संसद्मा आफ्ना विषयवस्तुहरू उठान गर्न पाइने बताएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले जेठ १० गतेको बैठकमा सत्ता पक्षकै सांसद लेखनाथ दाहालले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथको मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरीमा भ्रष्टाचार गरिएको आरोप लगाएको भनी आपत्ति जनाएका थिए । सरकारलाई त्यसको जबाफ दिन माग गर्दै एमालेका सांसदहरूले संसद् चल्न नदिने अडान लिएका थिए ।
त्यसैबीच संसद्मा समय माग गरी बोलेका सत्तासिन माओवादीका प्रमुख सचेतक पाण्डेले संसद्मा विषयवस्तुहरू उठान गर्न पाइने बताएका हुन् ।
उनले संसद्लाई व्यवस्थित रूपमा अघि बढाउने कुरा भइरहँदा प्रमुख प्रतिपक्ष दलले यस्ता विषयवस्तु उठाएर संसद् अवरूद्ध गर्न नहुने बताए । उनले सार्वभौम संसद्मा सांसदले आफ्ना विषयवस्तु राख्न पाउने भन्दै संसद्लाई व्यवस्थित रूपमा लैजानुपर्नेमा जोड दिए ।
“हामी यो संसद्मा छौँ, संसद्लाई व्यवस्थित रूपमा अघि बढाउने कुरा गरिरहेका छौँ । हामीले संसद्लाई अघि बढाउने, आफ्ना कुरा संसद्मा राख्ने भन्यौँ, त्यहीअनुसार कुरा गरिसकेपछि अहिले जुन खालको विषयवस्तु गरिएको छ । प्रमुख प्रतिपक्ष दलमा यो सार्वभौम संसद् हो, सार्वभौम संसद्मा बोल्न, विषयवस्तु राख्न पाइन्छ,” उनले भने, “यो देशमा अहिले जसरी भ्रष्टाचार भइरहेको छ, भ्रष्टाचार भइरहेको विषयवस्तुहरूलाई छानबिन गर्नुपर्छ ।”
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उठेर विरोध गरिरहेका एमाले सांसदहरूले सरकारविरूद्ध नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । सरकारलाई त्यसको जबाफ दिन माग गर्दै एमालेका सांसदहरूले संसद् चल्न नदिने अडान लिएका छन् ।