ढाकाकुमारको स्पष्टोक्ति– मैले सांसद बन्न पार्टीलाई ३ करोड बुझाएको भनेको छैन

32

काठमाडौँ, १२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न आफूले पार्टीलाई ३ करोड रूपैयाँ बुझाएको भनी सार्वजनिक समाचार सत्य नभएको दाबी गरेका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न पार्टीलाई बुझाउन भन्दै २ करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि पार्टी र सांसद दुवैबाट निलम्बित श्रेष्ठले समानुपातिक सांसद बनाउँदा पार्टीका उपसभापति डिपी अर्याल र प्रवक्ता डा.मुकुल ढकाललाई झन्डै ३ करोड रूपैयाँ बुझाएको स्वयम् श्रेष्ठले बताएको भन्दै केही सञ्चारमाध्यमले समाचार लेखेका थिए ।

यसप्रति आपत्ति जनाउँदै आरोपित उपसभापति अर्याल र प्रवक्ता ढकालले वक्तव्य जारी गरी झुटो आरोप लगाइएकाले मानहानीको मुद्दा लगाउने चेतावनी दिएका थिए । त्यसपछि ढाकाकुमारले पनि बिहीबार विज्ञप्ति जारी गरी आफूले भन्दै नभनेको कुरा सञ्चारमाध्यमले लेखेको दाबी गर्दै खण्डन गरेका हुन् ।

“आदरणीय दाजुभाइ, दिदीबहिनीहरूमा विशेषतः मिति २०८०÷०२÷१० गते केही अनलाइन मिडियाहरूले समानुपातिक सांसद बन्न तीन करोड रूपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोलकल्पित तथा आधारहीन समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,” श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उक्त विषयमा म कुनै मिडियाहरूसँग नबोलेकोले र समाचार सम्प्रेषणको लागि अनुरोधसमेत नगरेको र मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु । साथै निष्पक्ष र स्वतन्त्र पत्रकारिताको धर्मलाई निर्वाह गरी आधारहीन समाचारलाई सम्प्रेषण नगर्नसमेत सम्बन्धित मिडियाहरूको ध्यानाकर्षण गराउन चाहन्छु ।”

त्यसरी झुटो समाचार अब थप मिडियाले सम्प्रेषण गरेका खण्डमा आफू स्वयम् कानुनी प्रक्रियामा जान बाध्य हुने चेतावनीसमेत श्रेष्ठले दिएका छन् ।

उनले भनेका छन्, “अन्तमा स्वीकृत आधारबिन नै अन्य कुनै मिडियाहरूले यस्ता भ्रामक तथ्यहीन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गर्ने समाचार सम्प्रेषण गरेको खण्डमा स्वयम् आफैँ कानुनी प्रक्रियामा जान बाध्य हुने छु ।”

May be an image of text

Share This:
सम्बन्धित खबर
Loading...