रेशम चौधरीको बाँकी कैद माफी गर्न सरकारले प्रक्रिया अघि बढायो

52

काठमाडौँ, ११ जेठ । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीको बाँकी कैद माफी गर्न सरकारले प्रक्रिया अघि बढाएको छ ।

रेशम चौधरीलाई जन्मकैदको फैसला हुने जिल्ला अदालतको फैसला सर्वोच्च अदालतले सदर गरेको केही दिनमै सरकारले कैद माफी गर्ने प्रक्रिया अघि बढाएको हो । यही जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिनेगरी सरकारले फाइल तयार गरेको स्रोतले जनाएको छ ।

सजाय माफी माग गरिएको चौधरीको निवेदन गृह मन्त्रालयमार्फत् राष्ट्रपति कार्यालय पुगेको छ । चौधरीको बाँकी कैद सजाय माफीका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोलीले हिजै राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरेको छ ।

चौधरीले कानुनअनुसार कैद भुक्तान गरिसकेकाले उनलाई माफी दिँदा संविधान र कानुनविपरीत नहुने सरकारको जिकिर छ । चौधरीलाई जन्मकैद हुने सर्वोच्चको पूर्णपाठ नआइसकेकाले आममाफी दिनका लागि राष्ट्रपति कार्यालय भने अन्योलमा रहेको छ ।

कैलालीको टीकापुरमा २०७२ सालको भदौमा ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको ज्यान जाने गरी भएको घटनामा रेशम चौधरी संलग्न रहेको सर्वोच्चको ठहर छ । चौधरी २०७४ सालदेखि जेलमा छन् । जन्मकैदको सजायअनुसार चौधरीले २० वर्ष कैद भुक्तान गर्नुपर्ने छ । चौधरी जेलमा रहे पनि उनकै सक्रियतामा खेलेको नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...