नागरिकताबारे फेरि मुद्दा परेपछि लामिछाने भन्छन्– इरिटेड गर्ने पनि सीमा हुन्छ

66

काठमाडौँ, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी विषयमा फेरि सर्वोच्च अदालतमा मुद्दा परेको छ । अधिवक्ता युवराज सफलले दिएको मुद्दा सर्वोच्चले बुधबार दर्ता गरेको छ ।

आफ्नो नागरिकतासम्बन्धी फेरि मुद्दा दर्ता भएपछि लामिछानेले इरिटेड गर्नुको पनि सीमा हुने बताएका छन् । “बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, “मुद्दा हाल्नु र मद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेड गर्ने पनि सीमा हुन्छ ।”

यसअघि गत माघ १३ गते अमेरिकी नागरिकता लिएपछि प्रक्रिया नपुर्‍याएर पुनः नेपाली नागरिकता नलिएको भन्दै लामिछानेको सांसद पद सर्वोच्चले खारेज गरिदिएको थियो । त्यतिबेला उनी गृहमन्त्रीसमेत थिए । अदालतको फैसलासँगै उनको गृहमन्त्री पद पनि गुमेको थियो ।

त्यसपछि लामिछाने जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता लिएका थिए ।

अधिवक्त सफलले लामिछानेले पुनः नागरिकता लिँदा प्रक्रिया नपुर्‍याइ लिएको भन्दै मुद्दा हालेका हुन् ।

नयाँ नागरिकता लिएपछि लामिछाने वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन–२ बाट फेरि प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

लामिछानेले अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा आफूसँग भएकाले जेठ ९ गते सर्वोच्च अदालतमा बुझाइसकेको बताएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...