नवनियुक्त वनमन्त्री र शिक्षा राज्यमन्त्रीले लिए शपथ

36

काठमाडौँ, १० जेठ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी यादवले शपथ ग्रहण गरेका हुन् ।

मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ खुवाएका हुन् ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायतको उपस्थिति थियो ।

मंगलबार राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम महतो र यादवलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरू दुवैजना जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी भएका हुन् ।

गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले गठबन्धनमा आबद्ध दलबीच भागबन्डा नमिल्दा किस्ताबन्दीमा मन्त्रिपरिषद् विस्ता गर्दै ११औँ पटकमा भने पूर्णता दिएका हुन् । प्रचण्ड प्रधानमन्त्री भएको पाँच महिना पूरा हुँदा मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

यससँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ । संविधानले मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय मात्रै हुन पाउने व्यवस्था गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...