चेन्नई फाइनलमा

40

काठमाडौँ, १० जेठ । डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति घरेलु मैदानमा भएको पहिलो क्यालिफायरमा गुजरातलाई १५ रनले हराउँदै चेन्नई उपाधि नजिक पुगेको हो ।

चेन्नई आइपिएलको १४औँ सिजनमध्ये दशौँ पटक फाइनलमा पुगेको हो । चेन्नईले यसअघि खेलेका नौ फाइनलमध्ये ४ फाइनल जित्दै उपाधि जितेको छ ।

चेन्नइले दिएको १७३ रनको लक्ष्य पछ्याएको गुजरात अन्तिम बलमा १५७ रनमा समेटियो । गुजरातका ओपनरद्वय ऋद्धिमान साह १२ र शुभमन गिल ४२ रनमा आउट भए । दुर्वलाई चेन्नईका दीपक चाहले आउट गरे ।

कप्तान हार्दिक पाण्ड्या ८ रनमा आउट भए भने डेभिड मिलर ४ रनमा पेभिलियन फर्के । १९औँ ओभरको तेस्रो बलमा राशिद खान ३० रन बनाएर ९औँ विकेटको रूपमा आउट भएपछि गुजरातको आशा सकिएको थियो ।

चेन्नइका दीपक चाहर, महिश तिक्षणा र मथिशा पाथिरनाले समान २–२ विकेट लिए ।

त्यसअघि चेन्नइमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिमले ७ विकेटको क्षतिमा १७२ रन जोड्यो । चेन्नइका लागि ओपनर रूतुराज गायकवाडले ४४ बलमा ७ चौका र १ छक्काको मद्धतमा ६० रन जोडे भने डेभन कोन्वेले ३४ बलमा ४० रन बनाए ।

यस्तै, रविन्द्र जडेजाले २२ रन जोड्दा अजिङ्क्य रहाने र अम्बाती रायडुले १७–१७ जोडेर आउट भए ।

अब पराजित भएको गुजरातका लागि दोस्रो क्वालिफायर खेल्दै फाइनल पुग्ने मौका छ । दोस्रो क्वालिफायरमा गुजरात र एलिमिनेटरको विजेताबीच खेल हुने छ । एलिमिनेटरमा लखनउ र मुम्बई भिड्दैछन् ।

Share This:
सम्बन्धित खबर
Loading...