काठमाडौँ, ८ जेठ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रममा रहेको ‘जनयुद्ध’ शब्द स्वीकार गरेको हो भनेर नेपाली कांग्रेसलाई प्रश्न गरेका छन् ।
नीति तथा कार्यक्रममाथि संसद्मा भएको छलफलमा भाग लिँदै एमाले सांसद भट्टराईले ०७२ सालपछि पहिलो पटक सरकारी दस्तावेजमा जनयुद्ध शब्द परेको बताए ।
दुनियाँका मार्क्सवाद फेरि पुनर्जाग्रित भएर आएको भन्दै उनले भने, “आज कता–कता के लाग्छ भने फुकुयामाले बिपी, गणेशमान, किसुनजी, गिरिजाप्रसाद जस्ता व्यक्तित्व पछिको एउटा निक्छरो नेपाली कांग्रेसको हालत देखेर कांग्रेसकै लागि यो लेख्नुभएको हो कि भन्ने लागिरहेको छ ।”
यदि एक नम्बर बुँदा स्वीकार गर्छ भने कांग्रेसको इतिहासकै अन्त्य हुने उनको दाबी छ । एमाले सचिव भट्टराईले अघि भने, “यसमा माननीय शेरबहादुर देउवाजीबाटै जबाफ पाए हुन्थ्यो भन्ने लाग्छ । उहाँ पार्टी सभापति हुनुहुन्छ, गठबन्धनको सबभन्दा ठुलो नेता हुनुहुन्छ, उहाँको नीति बिना यो नीति कार्यक्रम कसरी बन्यो होला ?”
हिमाली र पहाडी क्षेत्रबाट मानिस तराई र ठुला सहरमा बसाइँसराइँ गरिरहेको उल्लेख गर्दै उनले हिमाल र पहाडमा स्थानीय मानिसलाई अड्याउन सकिएन भने देशको संरचना के हुन्छ ? भनी प्रश्न गरे ।
मध्य पहाडी पुष्पलाम राजमार्गको निर्माण बसाइँसराइँ रोक्नका लागि गरिएको बताउँदै उनले मधेसका उर्वर भूमि खण्डित र बिक्री नहोस् भनेर आफूहरूले त्यो अवधारणा ल्याएको जिकिर गरे ।
नेता भट्टराईले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु कमजोरी नभएको स्पष्ट पार्दै व्यवसायिक रूपमा सञ्चालन गर्न नसक्नु चै कमजोरी भएको बताए । भारतसँग कूटनीतिक सम्झौतामार्फत् विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अघि बढाउन उनले सुझाव दिए ।