काठमाडौँ, ३ जेठ । काठमाडौँको तारकेश्वरमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार तारकेश्वर नगरपालिका–६ जरंखुमा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको हो ।
बुधबार दिउँसो बा३ख ६३६७ नम्बरको बसले बा४९प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिएको बस रेलिङ भत्काएर शेषमती खोलामा खसेको छ । तीव गतिका कारण दुर्घटना हुँदा १० जना घाइतेसमेत भएको प्रहरीले जनाएको छ ।