काठमाडौँ, ३ जेठ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको धारणा राखेका छन् ।
काठमाडौँमा मदन–आश्रितको ३१औँ स्मृति दिवसमा बुधबार आयोजित कार्यक्रममा उनले अहिलेको गठबन्धन सत्तामा मात्रै सीमित रहेको उल्लेख गरे । उनले अहिलेको सत्ता गठबन्धनले राजनीतिलाई हलुका रूपमा लिइरहेको दाबी गरे । नेपाली कांग्रेसलाई राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने स्थितिमा पुगेको ओलीको भनाइ छ ।
“अहिलेको राजनीतिलाई जसरी अत्यन्तै हल्काफुल्का ढंगले लिइएको छ, मानिसहरूको लिन खोजिरहेका छन्, खासगरी सत्ताधारीहरूले, सत्ताधारी गठबन्धनले त्यो दुःखद् कुरा हो । देशको परिस्थिति अत्यन्त गम्भीर छ । अत्यन्त जटिल छ । नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावा भन्या । कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छोडिसक्यो,” उनले भने, “देश यस्तो गम्भीर परिस्थितिमा छ । एउटा लामो इतिहास बोकेको नेपाली कांग्रेस किंकर्तव्य विमुख, भोलि कहाँ जाने केही थाहा छैन भन्ने जस्तै छ, आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा छैन ।”
उनले कांग्रेस किंकर्तव्य विमुख भएको आरोप लगाए । उनले अहिलेको गठबन्धन सत्ता र सरकार प्राप्त गर्न मात्रै गरिएको गठबन्धन भएको दाबी गरे । वर्तमान गठबन्धन नीति, कार्यक्रम, उद्देश्यविहीन गठबन्धन भएको दाबी पनि गरे ।
अध्यक्ष ओलीले राजनीति भयावह अवस्थाबाट गुज्रिरहेको दाबी गरे । उनले अहिलेको सत्ता गठबन्धन टिक्क कि जान्छ भन्नेमा मात्रै सीमित रहेको दाबी गरे ।