काठमाडौँ, २ जेठ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धि यात्राको मुख्य बाधकका रूपमा रहेको भ्रष्टाचार र कुशासनलाई अन्त्य गर्न सरकार दृढता र निर्भिकतापूर्वक अघि बढेको बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नक्कली भुटानी शरणार्थी पक्ररणका सन्दर्भमा भइरहेको अनुसन्धानबारे समितिका सदस्यले राखेको जिज्ञासामा उनले सो घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकार दृढ रहेको उल्लेख गरे । उपप्रधानमन्त्री श्रेष्ठले भने, “अनुसन्धानमा कुनै पक्षपात हुने छैन, सरकार जस्तो सुकै दबाब आए पनि झुक्दैन । अनुसन्धानले जहाँसम्म आवश्यकता ठान्छ त्यहाँसम्म दृढतापूर्वक पुग्छ । सरकार दोषीलाई कारबाही गर्न दृढ छ ।”
नक्कली भुटानी शरणार्थी बनाउने घटनाको अनुसन्धानका लागि प्रहरी अहोरात्र खटिरहेको जानकारी दिँदै उनले अनुसन्धानका क्रममा प्रहरीलाई सुरूवातदेखि नै कुनै राजनीतिक दबाब वा अवाञ्छनीय प्रभावबाट मुक्त रहन कडा निर्देशन दिएको बताए ।
उनले भने, “कोही निर्दोष फस्ने काम नहोस् भनेर प्रारम्भदेखि नै सचेत हुन, कसैको सार्वजनिक छविमाथि अनावश्यक आशंका र क्षति पुग्न नपाओस् भनेर होशियार भएर प्रहरीले निष्ठापूर्वक र निष्पक्ष ढंगले अनुसन्धान अघि बढाएको छ ।”
अनुसन्धानका क्रममा प्रमाण र तथ्य देखापरेका आधारमा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिने र अनुसन्धानको प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाउँदै उनले अनुसन्धानले पुष्टि गरेका आधारमा कानुको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त परे । “संसद्मा सांसदले बाहिर नागरिक समाज र बुद्धिजीवी, राजनीतिक दलका कार्यकर्ता र जनसमुदायको ठुलो हिस्साले भ्रष्टाचार विरोधी अभियान चलाउनै पर्छ भनी व्यक्त गर्नुभएको विचार र अभियानप्रति आभार व्यक्त गर्छु,” उनले भने ।
भ्रष्टाचार र कमिसनको जालोले देशलाई बर्बादी गरेकाले त्यसको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सुशासन कायम गरी समृद्धि हासिल गर्ने वर्तमान सरकारको पहिलो कार्यभार रहेको स्पष्ट पारे ।