अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : स्वर्णिम वाग्ले

45

काठमाडौँ, २५ वैशाख । सांसद डा.स्वर्णिम वाग्लेले सरकारले संसद्‌मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको बताएका छन् ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे प्रतिनिधिसभाको आजको बैठकमा सांसद वाग्लेले अर्थतन्त्र सुधारका लागि गम्भीर सर्जरी नै आवश्यक रहेका बेला सामान्य झरफुकले मात्र यो सम्भव नहुने धारणा राखे ।

त्यस्तै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले धेरै विषय समेटेको भए पनि त्यसले अपेक्षित आशा जगाउन नसकेको उनको भनाइ छ ।

“धेरै विषय परेका छन् । केही छुटाउन नहुने कुरा छुटेका छैनन् । भन्दिनुपर्ने, सुनाइदिनुपर्ने कुरा पनि ल्याइएको नै छ,” वाग्लेले भने, “आर्थिक वृद्धि, सुशासन, जलवायु परिवर्तनको असर न्यूनीकरण, संघीयताको सवलीकरण, सामाजिक न्याय, निजी क्षेत्रको मनोबल बढाउनेजस्ता कुरा अर्थमन्त्रीले ल्याउनुभएको छ । तर, पनि माहोल खल्लो छ । हामी उत्साहहीन कर्मकाण्डमा सामेल भइरहेको जस्तो अनुभूति भइरहेको छ ।”

बजेटको सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रलाई तत्काल सुधार्न हतार (सेन्स अफ अर्जेन्सी) नदेखिएको पनि उनले उल्लेख गरे । “यो यथास्थितिवादी निबन्धले सम्पूर्ण नीति, योजना, बजेट निर्माण र शासकीय प्रक्रिया नै अविश्वसनीय भइरहँदा, सच्चिने, सुधार्ने, सपार्ने गुञ्जायस हामीले भेटाएका छैनौँ । त्यो सेन्स अफ अर्जेन्सी हामीले भेटाइरहेका छैनौँ,” वाग्लेले भने ।

अर्थतन्त्रले लय गुमाइरहेका बेला आर्थिक वृद्धि र उन्नतिका कुरा असुहाउँदो रहेको टिप्पणी पनि उनले गरे । “चालु आर्थिक वर्षका लागि ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएकामा अहिले हामी २ प्रतिशत हाराहारीमा रूमलिनुपरेको छ,” उनले भने, “लयमा भएको अर्थतन्त्रका बेला स्थिरता र स्थायित्वको नाराले न्याय गर्दैन ।”

Share This:
सम्बन्धित खबर
Loading...