बजेटका सिद्धान्त र प्राथमिकता विगतकै निरन्तरता : रवि लामिछाने

73

काठमाडौँ, २५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले आगमी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले संसद्‌मा प्रस्तुत गरेका विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता विगतकै नीतिको निरन्तरताका रूपमा रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद लामिछानेले अहिले अर्थतन्त्रमा देखिएका समस्यालाई पुरानै शैलीका अव्यवहारिक सिद्धान्त तथा प्राथमिकताले समाधान गर्न नसक्ने बताए ।

“विगत केही वर्षका यिनै दस्तावेज लिएर केही वाक्य र शब्दको हेरफेर गरी कर्मकाण्डी रूपमा बजेटका सिद्धान्त र प्राथमिकता आएको हामीले ठानेका छौँ । अहिले अर्थतन्त्र असाधारण अवस्थामा छ । असाधारण अवस्थामा पुगेको अर्थतन्त्रलाई जोगाउन र आम जनतालाई राहत दिन सधैँको जस्तो कर्मकाण्डी योजनाले कसरी सम्भव हो ?’ लामिछानेले भने ।

विनियोजित विधेयक २०८०/८१ को सिद्धान्त र प्राथमिकता विगतका असफल आर्थिक नीतिको निरन्तरता मात्र नभइ यसले नेपाली समाजको आजको समस्याको समाधान नदिनेसमेत उनले संसद्‌मा दाबी गरे । विद्यमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौती बाह्य कारणले मात्र नभइ आन्तरिक कारणले बढी सिर्जना भएको पनि उनको भनाइ छ ।

“हाम्रो आफ्नै राजनीतिक बेथिति, विसंगति र संगठित रूपमा राजनीतिले गरिरहेको भ्रष्टाचारको कारण अर्थतन्त्रमा समस्या देखिएको हो,” उनले भने, “योजनाहरू समयमा पूरा हुन नसक्नु र पूरा भएका आयोजनाले पनि आशाति प्रतिफल नदिनु, वित्तीय क्षेत्रको स्रोत अनुत्पादक क्षेत्रमा बढ्नु, गैरकानुनी व्यापार, तस्करी बढ्नु, सरकारी संयन्त्रको असक्षमता र बेइमानीको कारण हो । बाह्य कारण देखाएर हामी उम्कन मिल्दैन ।”

आगामी आर्थिक वर्षको बजेटमार्फत् कार्यान्वयनमा ल्याउनुपर्ने केही विषयबारे पनि लामिछानेले संसद्‌मार्फत् सरकारलाई सुझाव दिए । “असाधारण अवस्था छ, स्रोतको सीमितता छ । असाधारण रूपमा साधारण खर्च कटौटी गरौँ,” लामिछानेले भने, “बजेटमा गर्छौँ भनेका कुरा गरेर छाड्ने हो । यदि भएनन् भने कसका कारण हुन सकेन भनेर खोजौँ । मन्त्री, सचिव विभागीय प्रमुखलई जिम्मेवार बनाऔँ ।”
(((

Share This:
सम्बन्धित खबर
Loading...