बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक [तस्बिरहरू]

84

काठमाडौँ, २४ वैशाख । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक तथा राजमुकुट पहिरिने समारोह सम्पन्न भएको छ । लन्डनको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा राज्याभिषेक समारोहको आयोजना गरिएको छ । उनले शपथ लिँदै राजाका दायित्व पूरा गर्ने बताएका छन् ।

समारोहमा राजा चार्ल्स तथा उनकी पत्नी क्विन कन्सोर्ट क्यामिलालाई राजमुकुट पहिर्‍याइएको छ । २.२३ किलो तौलको सुन र हिरा जवाहरात जडित श्रीपेच राजाहरूले राज्याभिषेकको बेला मात्रै पहिरन्छन् । राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उनको राज्याभिषेकमा पहिरिएकी थिइन् ।

समारोहको अन्तिम चरणमा राजाले गद्दी आरोहण पनि गरेका छन् । राजा बकिङ्घम दरबारबाट समारोहका लागि निस्कँदा सेन्ट्रल लन्डनका सडकमा मानिसहरूको भीडले स्वागत गरेको थियो ।

राज्याभिषेक परेड हेर्ने आशामा अनुकूल ठाउँ सुनिश्चित गर्नका लागि मानिसहरू रातदेखि नै कुरेर बसेका थिए । समारोहमा विश्वका नेताहरू, राजपरिवारका सदस्यसहित झन्डै २ हजार पाहुना सहभागी छन् ।

बेलायतको इतिहासमै सबैभन्दा बढी ७ दशकसम्म शासन गरेकी महारानी एलिजाबेथ द्वितीयाको गएको सेप्टेम्बरमा निधन भएपछि ७३ वर्षीय चार्ल्सले राज्यरोहण गरेका थिए ।

तस्बिर : एपी र एएफपी

Share This:
सम्बन्धित खबर
Loading...