‘नक्कली शरणार्थी प्रकरण’ संलग्न जोसुकैलाई पनि कारबाही गर्नुपर्छ : उपाध्यक्ष महरा

145

कामठाडौँ, २३ वैशाख । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारबाही हुनुपर्ने धारणा राखेका छन् ।

“नक्कली शरणार्थी बनाउने जस्तो गम्भीर अपराध कार्यमा संलग्न कसैलाई पनि सरकारले छोड्नु हुँदैन । यो गम्भीर अपराध हो, गठबन्धनभित्र र बाहिर जोसुकैलाई पनि कारबाही हुन्छ,” उनले भने ।

शनिबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि सरकारसँग स्पष्ट बहुमत हरेको बताएका छन् । सरकारले विश्वासको मत लिनुपर्ने अवस्था आएपनि स्पष्ट बहुमत पुग्ने बताए ।

“राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरिसकेको छ तर औपचारिक रुपमा सरकारलाई जानकारी दिएको छैन । निर्णय गरेपछि औपचारिक रुपमा जानकारी गराउँछ होला नै । सरकारसँग स्पष्ट बहुमत छ । रास्वापाले फिर्ता लिँदैमा सरकारमाथि प्रश्न उठ्ने अवस्था छैन,” महराले भने । रविले भ्रष्टाचारविरुद्धका फाइल खोल्ने भएपछि मात्रै सरकारमा सहभागी हुने भन्दै आएको तर सरकार त्यसमा अघि बढेको बेला समर्थन फिर्ता लिएको महराले बताए ।

माओवादी केन्द्रका प्रवक्तासमेत रहेका महराले सरकार जनतासँग गरेको प्रतिवद्धता अनुरुप अघि बढिरहेको बताए । उनले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई कानुनको दायरामा ल्याउन, मिटरब्याज पीडितलाई न्याय दिने कुरामा अडिग रहेको बताए । इतिहासमै पहिलो पटक शैक्षिक सत्र सुरु हुनु पहिले नै पाठ्यापुस्तक विद्यालयमा पुर्‍याउनसहितका कार्यले सरकारसँग जनताको आशा बढेको बताए ।

माओवादी केन्द्रसहित ६ वटा पार्टीबीच समाजवादी मोर्चा बनाउने भन्ने विषयमा छलफल जारी रहेको महराले जानकारी दिए । विभिन्न चरणमा छलफल भइरहेको बताउँदै महराले अगाडि भने, “हाम्रो पार्टी माओवादी केन्द्रसहित ६ पार्टीबीच समाजवादी मोर्चा बनाउनेबारे छलफल जारी रहेको छ । मोर्चामा सहभागी विचार र कार्यक्रम मिल्ने पार्टीबीच एकता गर्ने नभए राष्ट्र र राष्ट्रियता र जनजिवीकाका सवालमा सहकार्य गर्ने सहमति भएको छ ।”

Share This:
सम्बन्धित खबर
Loading...