काठमाडौँ, २३ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फरार रहेका सचिव टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताएका छन् ।
शनिबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच एक घन्टा बढी लामो छलफल भएको छ । छलफलपछि पत्रकारले सोधेको प्रश्नमा उनले रायमाझी आफ्नो सम्पर्कमा नभएको बताएका हुन् ।
“पूर्वमन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छे त्यसरी हराउँछन् र भन्नुभएको थियो । अहिले त हराइराखेका छन् । कहाँ बस्नुभएको छ उहाँ ?” ओलीलाई एक पत्रकारले प्रश्न सोधेका थिए ।
त्यसको जबाफमा उनले भने, “तपाईंहरूले खोज्नुस् न । मेरो सम्पर्कमा हुनुहुन्न ।”
यस्तै, अभियुक्तलाई बचाउन लागेको आरोप छ भन्ने प्रश्नमा केही मान्छेहरूले त्यस्ता खालका हल्ला फैलाउने काम गरेको बताए ।
एमाले सचिव रायमाझी अहिले फरार छन् ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम ठगी गरेको प्रकरणमा प्रहरीले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले यस घटनामा ९ जनालाई पक्राउ गरिसकेको छ ।
पक्राउ परेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन् ।
जिल्ला प्रहरी परिसरले उनीहरूविरूद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । यसको अनुसन्धानका लागि प्रहरीले ६० दिन समय पाउँछ । यस घटनामा अहिलेसम्म १०६ जनाले २० वटा जाहेरी दिएका छन् । उनीहरूले कुल २३ करोड २५ लाख रूपैयाँ ठगी भएको भनी जाहेरी दिएका छन् । सुरूमा पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएकामा कार्यालयले केहीलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसरलाई बुझाएको थियो ।