हेलिकोप्टर दुर्घटना : घाइते एकलाई काठमाडौँ लगियो [अपडेट]

125

खाँदबारी, २२ वैशाख । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिप्ररुङको हम्बरेडाँडामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेका थप एक जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ ।

विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकरलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत् काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र गोदारले जानकारी दिए ।

आज दिउँसो १ बजेर १० मिनेटमा भोटखोला गाउँपालिका–४ हटिया, सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, खोज उद्धारकर्ता छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते स्थानीय भविन गुरुङको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

घाइते क्याप्टेनसहित तीन जनाको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । घाइते शंकरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि यसअघिनै सिम्रिक एयरको अर्को हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

हेलिकोप्टरले आयोजनास्थलमा परीक्षण गरिएको माटो, ढुंगा तथा कङ्क्रिटलगायत सामान लिएर अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । निर्माणाधीन एक हजार ६१ मेगावाटको अपर अरुणको सामान ढुवानीको क्रममा सिम्रिक एयरको हेलिकोप्टर शुक्रबार भोटखोला पुगेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...