गंगादेवी हत्या प्रकरण : तीन जना आरोपित पुर्पक्षका लागि कारागार चलान

186

बलेवा, २० वैशाख । जिल्लाको बडिगाड गाउँपालिका–३ की होटल व्यवसायी गंगा शेरचनको हत्यामा संलग्न तीन जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

शेरचनको हत्यामा संलग्न बागलुङको बडिगाड गाउँपालिका–७ असारे माझखर्क घर भई गलकोट नगरपालिका–१ दुदिलाभाटी बस्ने थम्मन बहादुर घर्ती, मकवानपुरको बितिनी गाउँपालिका–७ घर भई हाल काठमाडौँको चन्द्रगिरि नगरपालिका–१० ढुंगाअड्डा बस्ने लोक बहादुर दर्लामी र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भई हाल काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ हुर्का बेइजिङ बस्ने शिव बहादुर तामाङलाई प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला अदालत गुल्मीले पुर्पक्षका लागि कारागार चलान गरेपछि प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो । गत माघ १५ गते गुल्मी मुसिकोट नगरपालिका–७ न्वारमा गंगादेवी शेरचनको हत्या भएको थियो । उनको हत्यामा संलग्न भएको तथ्यको आधारमा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताए ।

५७ वर्षीया शेरचन माघ १५ गते आइतबार बिहान आफ्नै होटलको भुइँमा हातखुट्टा र मुख सेलो टोपले बाँधिएको अवस्थामा फेला परेकी थिइन् । बागलुङको बडिगाड–३ सिसाखानीकी गंगादेवी मुसिकोट नगरपालिका–७ न्वारमा ३० वर्षदेखि होटल सञ्चालन गर्दै आएकी थिइन् ।

भैरहवाबाट तालिमप्राप्त कुकुर झिकाएर अनुसन्धान अघि बढाइएको उक्त घटनामा गुल्मी प्रहरीले लुम्बिनी प्रदेश प्रहरी दाङसँगको समन्वय तथा केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा हत्यामा संलग्न थम्मन बहादुर घर्तीलाई गत फागुनमा पक्राउ गरिसकेको थियो ।

उनी घर्तीको बयानको आधारमा तीन जना मिलेर सामूहिक हत्या गरेको खुलेपछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो । सुरूमा गुल्मीका प्रहरी उपरीक्षक (एसपी) अर्जुन रानाभाट र डिएसपी माधवराज खरेलको टोलीले अनुसन्धान गरेको थियो ।

त्यसपछि हत्यामा संलग्न रहेका लोक बहादुर दर्लामी र शिव बहादुर तामाङ गत चैत २८ मा धुलिखेलबाट पक्राउ गरिएको थियो ।

हत्यामा संलग्न पुष्टि भएपछि उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । हत्यामा संलग्न एक जना भने फरार छन् । उनको खोजीकार्यालाई तीव्रता दिइएको गुल्मी प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...