लुम्बिनी, १९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत दशौँ बैठमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका हुन् ।
आज बसेको प्रदेशसभा बैठकमा भएको मतदानमा विश्वासको मतको पक्षमा ५३ र विपक्षमा २९ मत परेको सभामुख तुलाराम घर्तीमगरले घोषणा गरेका थिए ।
नेपालको संविधानको धारा १८८ को उपधारा (१) तथा लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ को उपनियम (४) बमोजिम मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मतको प्रस्ताव राख्दा उनको पक्षमा ५३ मत परेको छ ।
यस्तै, विश्वासको मतको विपक्षमा २९ र ४ जना तटस्थ रहेका छन् । प्रदेशसभामा रहेका १० दलमध्ये विश्वासको मतको पक्षमा ८ दलका ५२ जना र एक स्वतन्त्र सांसदगरी ५३ जनाले मतदान गरेका छन् ।
मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का ९, नागरिक उन्मुक्ति पार्टीको ४, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका ३–३, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चाका एक–एक र एक स्वतन्त्र सांसदसहित ५३ जनाले मतदान गरेका थिए ।
यस्तै, विपक्षमा नेकपा (एमाले)का २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ गरी ३३ जना रहेका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त चौधरीले विश्वासको मत पाएपछि सरकारलाई पूर्णता दिने तयारीमा छन् ।