प्रदीप पौडेलले पनि गरे पूर्व अयोग्य लडाकुलाई रकम बाँड्ने निर्णयको विरोध

40

काठमाडौँ, १५ वैशाख । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पनि पूर्व अयोग्य लडाकुहरूलाई आर्थिक सहायता दिने सरकारी निर्णयको विरोध गरेका छन् । चुलिँदै गएको आर्थिक संकटको दीर्घकालीन समाधानका लागि व्यापक छलफल र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

“अहिले चुलिँदै गएको आर्थिक संकटलाई तत्काल हल गर्दै दीर्घकालीन समाधान खोज्नका लागि सबै सरोकार निकायसँग व्यापक छलफल र सहकार्य गर्न आवश्यक छ,” उनले फेसबुकमा लेखेका छन्, “आम जनतामा बढेको निराशा र आक्रोशलाई संवेदनशील भएर गम्भीरताका साथ सम्बोधन गर्न सरकारलाई आग्रह गर्न चाहन्छु ।”

प्रतिनिधिसभा सदस्यसमेत रहेका पौडेलले संसद्लाई जानकारी नै नदिएको अयोग्य लडाकुहरूलाई आर्थिक सहायता दिने कार्यविधि बनाइएको सुन्नमा आएको उल्लेख गरेका छन् । जसले सरकारको काम कारबाही अत्यन्तै अपारदर्शी भएको र आर्थिक संकटको समयमा पनि सरकारले प्राथमिकता छनोट गर्न नसकेको टिप्पणी उनले गरेका छन् ।

“गत चैत ८ गते प्रधानमन्त्री स्वयंले अयोग्य लडाकुहरूलाई पैसा दिने निर्णय नभएको विषय सार्वजनिक भएको थियो । तर, संसद्लाई समेत जानकारी नगराई भित्रभित्रै आर्थिक सहायता दिने कार्यविधि बनाइएको सुन्न आएको छ,” पौडेलले लेखेका छन्, “यसले सरकारको काम कारवाही अत्यन्तै अपारदर्शी भएको र यो आर्थिक संकट को समयमा पनि सरकारले प्राथमिकता छनोट गर्न नसकेको भन्ने प्रष्ट देखाउँछ ।”

यसअघि नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाले पनि सरकारको उक्त निर्णयप्रति विरोध जनाइसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...